अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद्: नेम्वाङ
काठमाडौं, 21 जुलाई 2023
नेकपा एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आफूलाई दलका नेताहरूले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भएपनि समय कटिसक्दा पनि समिति नेतृत्व विहीन हुन राम्रो नभएको बताए । उनले समितिको नेतृत्व जतिसक्दो चाँडो हुनुपर्ने बताए ।

उनले भने ‘यसबीचमा तपाईँहरू जस्तै मैले बारम्बार यो कुरा गरेको छु, हाम्रा नेताहरूसँग, सत्तापक्षसँग मलाई जानकारी भएअनुसार आजभोलि टुंगिनुपर्दथ्यो । असार भित्रमा सभापति संसदले पाउँछ, भनेर मलाई भनिएको थियो । तर असार पनि नाघ्यो । अब समितिले सभापति पाउँछ । समितिले सभापति नपाएको कुरा दुःखद् हो । जतिसक्दो चाँडो यसले टुंगो पाउनुपर्छ । हामीले मंसिरदेखि अहिलेसम्म समिति सभापति त बनाउन सकेका छैनौँ भने अब हामी टुंग्याउनतर्फ लागौँ । समितिको सभापति नहुँदा वास्तवमा समितिको नेतृत्व नै छैन । हाम्रा ज्येष्ठ सदस्यहरूले त समिति सञ्चालन गर्नुभएको छ, धन्यवाद दिनुपर्छ ।










































