जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री
काठमाडौं, 27 जुन 2023
अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने स्पष्टीकरण दिएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने तयारी गरेको भन्दै प्रतिपक्ष एमाले र रास्वपाको अवरोधपछि सदनमा बोल्दै अर्थमन्त्री महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नरहने स्पष्ट पारे।
सो सम्बन्धमा अर्थमन्त्री महतले स्पष्टीकरण दिँदै भने, ‘हामीले निर्वाचन कार्यालय खारेजी भनेका थिएनौं तैपनि त्यहाँ खारेजी शब्द पर्न गयो, तत्कालको अवस्थामा जिल्ला निर्वाचनको कार्यालय आउँदा खारेज गरी जिल्ला प्रशारण कार्यमा निर्वाचन इकाइ रहने, अब पाँच वर्षसम्म यसको धेरै काम नहोला, त्यसो हुनाले यसमै यसको बिल्डिङ छ, त्यही नै यसको स्वतन्त्र रूपमा कार्यालय भए भइहाल्छ भन्ने आशयका साथ पर्न गयो ।’
उनले थपे, ‘तर समग्र स्टेकहोल्डरहरूसँग छलफल गरेपछि थप निर्वाचनआयोगसँग र नेतृत्वतहसँग कुराकानी भएपछि हामी स्पष्ट छौं, यसको छुट्टै अस्तित्वलाई नकार्ने समाप्त पार्ने हाम्रो कुनै मनशाय छैन’।
जिल्ला निर्वाचन कार्यालय अहिले जस्तै कायम रहने बताउदै उनले प्रशासन कार्यालय मातहत ल्याउने भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट्याए।
यो भिडियो पनि हेर्नुहोस्…