काठमाडौं, 20 सितम्बर 2021
अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले बजेटमा ल्याएको कुनै कार्यक्रम नहटाइएको दावी गर्नुभएको छ । सोमबार संसद भवनमा सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै शर्माले तीन प्रतिशत बजेट घटाउने बाहेक कुनै कार्यक्रम बजेटमा नहटाइएको दावी गर्नुभएको हो । उहाले बजेटलाई संसदबाट अघि बढाउनका लागि प्रतिपक्षीसंग सहमतिको अधिकमत प्रयास गरिएको बताउनुभयो । उहाले प्रतिपक्षिसंग निरन्तर वार्ता सम्वादलाई निरन्तर दिदै निकास दिने सरकारको नीति रहेको धारणा राख्नुभयो । त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसदलाई सूचारु गर्नका लागि प्रतिपक्षी दलको नेतासंग निरन्तर सम्वाद गरेको जानकारी दिनुभयो । उहाले संसदलाई सहज रुपमा चल्नुपर्ने र यसलाई प्रभावकारी चलाउन सरकार पक्ष र प्रतिपक्षीको दायित्व भएको बताउनुभयो । यता एमालेका सांसद बिशाल भट्टराईले आफुहरुले निरन्तर विरोध गरेपनि सत्तापक्षले संवादको कुनै प्रयास नगरेको आरोप लगाउनुभयो । सभामुखको भूमिकाप्रति आपत्ती जनाउदै आफुहरुले संसदमा आन्दोलन गरिरहेको र सभामुखले न्याय नगरेसम्म आन्दोलन जारी रहने उहाले बताउनुभयो । भट्टराईले यसअघि सरकारले सदनमा बिजनेश ल्याउन नसकेको भन्दै अहिले एमालेले बिरोध गर्दा जनताको मुद्धा नरोकिने तर्क गर्नुभयो ।









































