काठमाण्डौँ, 14 फरवरी 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसाशित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनुभएको छ। राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दज्य्रानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताउनुभएको हो। उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फी व्यक्तित्व विकासमा हरसम्भत सहयोग गर्न कटिबद्ध रहेको समेत बताउनुभयो।
उहाँले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सुझाव समेत दिनुभयो। उहाँले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दिक्षीत भएका विद्यार्थीको भूमिका अझबढी महत्वपूर्ण हुने बताउनुभयो। राष्ट्रिय सेवा दलका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले दलको सुद्दृढीकरण र जनस्तरसम्म पुऱ्याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो। राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका 7 हजार 7 सय विद्यार्थीहरु सहभागी रहेका थिए।









































