28 सितम्बर 2021
अफगानिस्तान र म्यानमारसहितका द्धवन्द्धग्रस्त मुलुकको परिस्थितीप्रति नेपालले चासो व्यक्त गर्दै त्यहाँका नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्यपूर्वको सुरक्षा र मानवअधिकार स्थितीप्रति चासो व्यक्त गर्नु भएको छ। परराष्ट्रमन्त्रीले नेपालले सबै किसिमका आतंकवादको अन्त्य हुनुपर्ने भन्दै आणविक निशष्त्रीकरण गर्नुसमेत बताउनु भयो । नेपालले शान्ति, सुरक्षा, निष्शत्रीकरण, आतंकवाद, मानवअधिकार, दिगो विकास, जलवायु परिवर्तनजस्ता मुद्दामा आफ्नो स्पष्ट दृष्टिकोण राखेको समेत बताउनु भयो । धनी मुलुकहरुलाई कोभिडविरुद्धको खोप वितरणमा समानता अपनाउन समेत नेपालले महासभामार्फत आग्रह गरेको छ । नेपालले खोपलाई नागरिकको अत्यावश्यक वस्तुको रुपमा घोषणा गर्न समेत आग्रह गरेको हो । परराष्ट्रमन्त्री खड्काले सम्बोधनमा सन् २०२६ मा अल्पविकसित मुलुकबाट हुने नेपालको स्तरोन्नतीले संरचनात्मक रुपान्तरणमा भूमिका खेल्ने बताउनु भयो । ऋण सहायतामा राहत दिएको भन्दै खड्काले अन्तर्राष्ट्रिय मुद्रा कोष र जी–ट्वान्टीलाई समेत धन्यवाद दिनु भयो । सम्बोधन पश्चात खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले राष्ट्रसंघ मुख्यालयमा उपमहासचिव अतुल खेरसँग शान्ति सेनाको भूमिका र तयारीबारे छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उनले बहराइनका समकक्षी रसिद अल जायनीसँग भेटवार्ता गरे।









































