काठमाडौं, 20 नोवम्बर 2021
अर्थमन्त्री जनार्दन शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर सामुदायिक पुँजी निर्माण रहेको बताउनुभएको छ । माओवादी पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्ने र सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्ने बताउनुभएको हो । अर्थमन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिनुभयो। अर्थमन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राख्नुभयो । समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्ने उहाँले बताउनुभएको हो । यस्तै समाजवाद नेपालको भूगोल तथा सामाजिक संरचनाका आधारमा निर्माण गरिनुपर्ने पनि अर्थमन्त्री शर्माले बताउनुभयो । उहाँले हिमाल, पहाड, तराई÷मधेस, कर्णाली, दलित, जनजाति लगायतको आधारमा मौलिक समाजवादको आधार तयार पार्नुपर्ने धारणा पनि राख्नुभयो । पछिल्लो समय चुनाव प्रणाली खर्चिलो भएको भन्दै मन्त्री शर्माले माओवादीले पुनः पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई अघि सानुपर्ने धारणा समेत राख्नुभयो ।









































