गोरखा,२९ जनवरी
गोरखाको अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र जन्माएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले अब ११ र १२ कक्षा निशुल्क पढ्न पाउने भएका छन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले बताए । ‘यो वर्ष कार्यक्रम ल्याएका हौं,’ उनले भने, ‘अहिलेलाई एक लाख रुपैयाँ रकम छुट्याइएको छ ।’
रकम अपुग भए हिउँदे अधिवेशनबाट पास गराएर रकम थप गर्न सकिने उनले बताए । उनका अनुसार नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने छ । ‘जुन फ्याकल्टी पढे पनि हुन्छ, जहाँको कलेज पढे पनि हुन्छ, हामी पढ्दा लाग्ने शुल्क तिरिदिन्छौ,’ उनले भने ।
जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उनले बताए । ‘छोराको आशमा धेरै सन्तान जन्माउने, अनि छोरा नै चाहिन्छ भन्ने मानसिकता कम गर्न पनि यो कार्यक्रम ल्याएका हौं,’ उनले भने ।









































