काठमाडौं, २४ जनवरी
चैत २० पछि नेपाल दूरसञ्चार प्राधिकरणले हालै जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका–२०७६’ले नेपालमा फरक नेटवर्कहरुमा हुने र विदेशबाट आउने कल (फोन) सस्तो हुने भएको छ ।
एउटा कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा हुने कल सस्तो हुने गरी व्यवस्था गरेको छ ।
एउटा सेवा प्रदायक कम्पनीको मोबाइलबाट अर्काे सेवा प्रदायक कम्पनीको मोबाइलमा फोन गर्दा फरक–फरक नेटवर्कहरु जोडिनुलाई अन्तरआवद्धता भनिन्छ । हाल यस्ता फरक नेटवर्कहरु कनेक्ट हुँदा महंगो शुल्क लाग्छ ।
जस्तो नेपाल टेकिलम, एनसेल र स्मार्टसेलले एक अर्काको नेटवर्कमा फोन गर्दा महंगो शुल्क लिने गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता तथा निर्देशक मिनप्रसाद अर्यालका अनुसार निर्दे्शिका लागू भएपछि सेवा प्रदायक कम्पनीले कलको मूल्य घटाउनुपर्ने छ । ‘अन्तरआवद्धता शुल्क घटेपछि त्यसबाट कम्पनीले पाउने फाइदा ग्राहकले पनि पाउनुपर्छ,’ उनले भने, ‘शुल्क घट्नासाथ कम्पनीको नाफाको मार्जिन बढ्छ, जसलाई हेरेर सेवा प्रदायकले कलको मूल्य घटाउनुपर्छ ।’
दुबै किसिमका अन्तरआवद्धतामा १० पैसा प्रतिमिनेट मात्रै शुल्क कामय गरिएको छ । अहिले यस्तो शुल्क प्रतिमिनेट ५४ पैसा छ, जुन चैत २० सम्म कायम रहनेछ ।
जस्तै अहिले नेपाल टेलिकमको प्रिपेडबाट एनसेलमा फोन गर्दा मिनेटको १.५० रुपैयाँ लाग्छ । तर चैत पछि यो शुल्क प्रतिमिनेट १.०६ रुपैयाँमा झर्नेछ । यसरी नै अरु धेरै कम्पनी र नेटवर्कहरुबीचको अन्तरआवद्धता शुल्क लाग्ने कलको पनि मूल्य घट्नेछ ।
चैतपछि विदेशबाट आउने कलको अधिकतम् अन्तरआवद्धता शुल्क आठ रुपैयाँ प्रतिमिनेट कायम हुनेछ ।
लगातारका वर्षहरुमा घट्दै जाने यो शुल्क ८ वर्षपछि १.८० रुपैयाँमा झर्नेछ । हालसम्म यस्तो शुल्क नतोकिँदा सेवा प्रदायकले आफूखुसी दर तोक्ने गरेका छन् ।









































