5 नवम्बर 2021
अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन । बुधबारका दिन नोभेम्बर २ तारीख कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर)को भएको निर्वाचनमा उनि नगर सदस्यमा निर्वाचित भएका हुन् । उनलाई सो नगर पालिकाको नगर सदस्यमा गत सेप्टेम्बर २४ ,२०२० मा नियुक्त समेत गरिएको थियो । सो नगर पालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको थियो । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका थिए । तर यस पटक उनि आफै उम्मेदवार भै निर्वाचनमा होमिएर बिजयी भएका छन् । उनलाई बिजयी गराउन नेपाली समुदायले ठूलो भूमीका निर्वाह गरेका थिए । उनलाई अधिकांशले मत दिएका थिए । नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २२ बर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महा नगर पालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग)भनिन्छ । अमेरिकाको केही राज्यमा भएको निर्वाचनमा रिपब्लिकनमय भएको अवस्था र कनेक्टिकट राज्य पनि रिपब्लिकनहरुको गढ भएको राज्यमा पनि श्रेष्ठले बाजी मारेका हुन् । २५ बर्ष अगाडी अमेरिका आएका श्रेष्ठ सन् २०१२ मा कनेक्टिकट मै स्थापित नेपाली समुदायको नेपाली समाज अमेरिका (सोसाइटी अफ नेपालिज इन अमेरिका) का दोश्रो कार्यकालका लागि समेत निर्बिरोध निर्वाचित अध्यक्ष हुन् । अमेरिकामा मूलधारको राजनीतिमा नेपाली समुदायको ईतिहासमा सबै भन्दा पहिले नगर पालिकाको निर्वाचनमा उप प्रमुखमा निर्वाचित हुने किरण सिटौला हुन । उनले मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नामक नगरपालिकाको उप प्रमुखमा खाता खोलेका हुन् भने उनि दोश्रो कार्यकालको लागि समेत निर्वाचित भएका छन् । यसरी मुलधारमा प्रवेश गर्नेहरुमा सिटौला पछि क्रमस मेरिल्याण्ड राज्यको बिधानसभा सदस्यमा एचबि ह्यारी भण्डारी,भर्जिनिया हे मार्केटका लागि नगर परिषद सदस्यमा मधु पन्थी,भर्जिनिया हर्नडन शहरका लागि नगर परिषद सदस्य प्रदिप ढकाल ,टेक्सस ड्यालसका नगर परिषद सदस्य नेत्र पाण्डे र राम चन्द्र श्रेष्ठ छैठो निर्वाचित नगर परिसद सदस्य भएका छन् । अमेरिकाको इतिहासमा श्रेष्ठ यसरी मूलधारमा पुग्ने नेपाली मूलका र नेपाली भाषी समेत गरि नाम लेख्ने सातौ नेपाली हुन् । यो क्रम निरन्तर वृद्धि हुदै जाने छ । ईतिहास बन्दै जाने छ ।









































