अमेरिका, 28 अक्तूबर 2021
राजदूत डा. युवराज खतिवडालाई अमेरिकाबाट फिर्ता बोलाइएको छ। राजधानी वासिङ्टनबाट भर्खरै खतिवडा नेपालतर्फ उड्नुभएको छ । उहाँलाई पुग नपुग आठ महिना राजदूत बनेपछि नेपाल सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारले असोज पहिलो साता खतिवडालगायत ११ जना राजदूतलाई फिर्ता बोलाएको थियो । उहाँ झण्डै डेढ महिना निवर्तमान राजदूतको हैसियतमा अमेरिकामा बस्नुभएको हो । स्रोतका अनुसार उहाँ कतार एअरवेजको उडानबाट स्वदेश फर्किनुभएको छ । भोलि बिहान काठमाडौं उत्रिने उडान तालिका छ । कुनैपनि राजदूत कार्यकाल सकाएर वा सरकारले फिर्ता बोलाएपछि सम्बन्धित देशका विदेशमन्त्री, विदेश सचिव, सरकार प्रमुख वा राष्ट्र प्रमुखसँग शिष्टाचार भेट गरेर फर्कने चलन छ । तर, अमेरिकास्थित नेपाली दूतावास स्रोतका अनुसार खतिवडाले अमेरिकी उच्च अधिकारीहरु कसैसँग पनि भेटवार्ताको लागि समय पाउनुभएन । उहाँले यसअघि ओहोदाको प्रमाणपत्र पनि अमेरिकी राष्ट्रपतिसमक्ष हुलाकबाट पठाउनुभएको थियो । उहाँ ह्वाइटहाउस नछिरी मुलुक फर्किने पहिलो नेपाली राजदूत बन्नुभएको छ ।









































