नयाँ दिल्ली , 16 जनवरी 2020
अमेरिका र चीनबीच व्यापार युद्ध कम गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । दुवै देशका अधिकारीहरुबीच वाशिंगटनमा प्रतिष्ठित व्यापारीहरुको सहभागीतामा दुवै व्यापार युद्ध कम गर्ने सम्झौता भएको हो ।
सम्झौतामा हस्ताक्षरपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग अझै बलियो सम्बन्ध सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी दुवै मिलेर विगतका गल्ती सच्याउँदै छौं , हामी मिलेर आर्थिक न्याय र सुरक्षित भविष्य तयार गर्दैछौं । सम्झौता आफ्नो ठाउँमा छ, त्योभन्दा ज्यादा यो विश्वमा शान्ति ल्याउने कोसिस गर्दैछौं ।
चीनका नेताहरुले यस सम्झौतालाई हरेक प्रकारले फाइदाको सम्झौता भन्दै यो सम्झौताबाट दुवै देशबीच सम्बन्ध सुधार हुने बताए ।
सम्झौताअनुसार चीनले आफ्नो अमेरिकी आयातलाई २ सय मिलियन डलरसम्म बढाउने प्रतिबद्धता जनाएको छ । अमेरिकाले केही चिनियाँ उत्पादनमा लगाइएको अतिरिक्त शुल्क ५० प्रतिशतसम्म घटाउन तयार भएको छ ।
अमेरिकाले आयात हुने चिनियाँ वस्तुमा भारी मात्रामा अतिरिक्त शुल्क लगाएको थियो । अमेरिकाले चीनलाई बौद्धिक चोरीको आरोप लगाएपछि अमेरिकाले कतिपय चिनियाँ उत्पादनमा आयात निषेध गरेको थियो । चीनले पनि अमेरिकी उत्पादनमा सोही प्रकारको निर्णय गरेको थियो ।
2018 देखि अमेरिका र चीन ‘जस्तालाई त्यस्तै’ रणनीतिमार्फत् व्यापार युद्धमा लागेपछि विश्वभर नै लगानीमा असर परेको थियो ।









































