काठमाडौं, 18 नवम्बर 2021
नेपाल भ्रमणमा रहनुभएका दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले फाइजर बायोएनटेक खोप अभियान २०७८ को निरिक्षण गर्नुभएको छ । बिहीबार काठमाडौंको शिक्षण अस्पताल पुगेर उहाँले १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई उपलब्ध गराइएको फाइजर खोप अभियानको निरिक्षण गर्नुभएको हो । सो क्रममा स्वास्थ्यमन्त्री बिरोध खतिवडाले नेपालमा भइरहेको खोप अभियानको बारेमा जानकारी गराउनुभएको थियो । कोभ्याक्स सुविधा मार्फत सहयोग स्वरुप प्राप्त भएको फाइजर बायोएनटेक खोप १ लाख ६ सय ३० मात्रा प्राप्त गरेको थियो । निरिक्षणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लु ले नेपालमा भएको खोप अभियानको प्रसंसा गर्नुभयो । कोरोनाबाट विश्वलाई नै सुरक्षित गर्न खोपको बिकल्प नभएको उहाले बताउनुभयो । बालबालिकाका लागि पनि खोप लगाउन नेपाललाई सहयोग गर्ने उहाँको भनाई छ । त्यस्तै स्वास्थ्य मन्त्री खतिवडाले आगामी दिनमा पनि कोरोनाबिरुद्धको लडाइमा अमेरिकाको सहयोग निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । अगामी एक महिना भित्रमा फाइजर खोपको थप ६० लाख डोज नेपाल आउने उहाले बताउनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने छ । नेपालले हालसम्म कोभिडविरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोन्सन खोप लगाउँदै आएको छ । त्यस्तै विदेशमन्त्री डोनल्ड लु ले शिक्षण अस्पतालको पनि निरिक्षण गर्नुभएको थियो ।









































