काठमाडौं, 10 मार्च 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार बोक्ने व्यक्तिको विनास हुने बताएका छन् । नेपाल खेलकुद महासंघका नवनिर्वाचित केन्द्रीय कमिटीको सपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका छन्। उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।
‘अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ,’ उनले भने ‘त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।’
अहंकारलाई हटाएपछि मात्रै प्रगति हुने भन्दै उनले सुझाव दिएका थिए । ‘म ज्ञानी हुँ, म पण्डित छु, म यहाँ छु म त्यहाँ छु, मजस्तो जान्ने को छ भन्यो भने त्यसले गरिखाँदैन । म विद्वान छु भनेर ठान्दछ भने त्यसले सक्दैन । म जान्दछु म जस्तो कोही छैन भन्यो भने बिग्रन्छ,’ ओलीले भने ।
अध्यक्ष ओलीले कार्यक्रममा खेल मात्रै नभएर राजनीतिमा पनि ‘फल’ खेल्ने सफल नहुने बताए । पेले, म्याराडोना, मेस्सी, एम्बापेसहित खेलाडीको उदाहरण दिँदै उनीहरू ‘फल’ नखेल्ने मात्रै नभएर उनीहरुले अरु फल खेल्छन कि भनेर जोगिने पनि गरेको बताएका थिए । ओलीले नियम तोडेर जितेको कुरा स्थायी नहुने टिप्पणी समेत गरे ।









































