अहिले रास्वपामा जोडिनु भनेको उम्मेदवार बनिहाल्नु होइन: लामिछाने
काठमाडौं, 29 जुलाई 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कसैंलाई पोस्न र पाल्नका लागि नबनेको बताएका छन् ।
आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति लामिछानेले रास्वपा नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि बनेको बताए । उनले रास्वपाका नेता तथा कार्यकर्तालाई पार्टीमा आवद्ध हुनु भनेको निर्वाचनका लागि उम्मेवादर हुनु नभएको बताएका हुन् ।
उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारे ।
उनले भने, ‘रास्वपामा सहभागी हुनु भनेको तपाईं उम्मेदवार हुनु होइन । कोही पनि अहिले उम्मेदवार होइन। साथीहरू मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु । त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन । रास्वपा कसैलाई पोस्न र पाल्न बनेको पार्टी होइन ’।
उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे । उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने बताए। उनले देशमा राम्रा नारा सबैले लगाउने भन्दै नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने उल्लेख गरे।
सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको बताए ।