काठमाडौं, 24 सितम्बर 2021
नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको हो । उहाले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको जिकिर गर्नुभयो । त्यस्तै उहाले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाउनुभयो । थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको धारणा राख्नुभयो । उहाले एमसीसीलाई परिमार्जन गरेर मात्र अघि बढाउनुपर्ने बताउनुभयो । उहाले पार्टीभित्र १० बुदे सहमति पूर्णरुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्र र विधिको शासन उल्लघन गरिरहेको भन्दै उहाँले सभामुखले निष्पक्ष निर्णय गर्न नसकेकै कारण बिरोध गर्नुपरेको उल्लेख गर्नुभयो ।









































