काठमाडौं, 2 नवम्बर 2022
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने बताएका छन् । बुधवार आज काठमाडौं १ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गरे । अध्यक्ष ओलीले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने उनले बताए ।
उनले भने, ‘यसपल्ट नेकपा एमाले बाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथमकदाचित यिनै मान्छेहरु, यिनीहरु अहिले जनताले छानेका होइनन्, संसद्ले छानेको होइन, यी परमादेश लिएरु जाली कीर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली,कीर्तेहरुले जित्ने हो नि । यी त जालीकीर्ते हुन् । सरकार बनाउने संसद्को कुरा अदालतमा लगेर मुद्दा जितेर ल्यायौँ, भनेर प्रधानमन्त्री अदालतले हटाउँछ । संसद्को के काम ? प्रधानमन्त्री अदालतले नियुक्त गर्छ । चुनावको के काम ? संसद्को के काम ? नेपालको अदालतको हालत देख्दा अचम्म लाग्छ । त्यसदिनयता अदालत बेहाल अवस्थामा छ’ ।
राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीले बताए । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनको आह्वान छ ।









































