विराटनगर, 5 नवम्बर 2022
आगामी निर्वाचन विथोल्न मुलुकभर विभिन्न २३ वटा समूह सक्रिय रहेको जानकारी गृह मन्त्रालयले दिएको छ। प्रदेश १ को राजधानी विराटनगरमा शनिबार आयोजित निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्रालयले साना तथा ठूला २३ वटा समूहले चुनावलाई असर पुग्ने गतिविधि गरिरहेको जनाएको हो। गृह प्रवक्ता एवं सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलले निर्वाचन विरोधी समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न तथा निष्तेज पार्न र निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण, भयरहित, स्वच्छ एवं निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएको जानकारी दिए।
‘निर्वाचन सम्पन्न गराउन सबै तयारी पूरा भइसकेको छ। तर बहिष्कारदेखि लिएर चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नदिन विभिन्न २३ वटा समूह सक्रिय छन्,’ उनले भने, ‘एउटा समूहमा ५–७ जना मात्रै पनि छन्। कुनै समूह अलि धेरै संख्याको पनि छ।’ सुरक्षाका दृष्टिकोणले मतदानस्थलाई अति संवेदनशील, संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको उनको भनाइ छ। निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्रीसमेतको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको पोखरेल बताउँछन्।
उनका अनुसार मतदातामा त्रास उत्पन्न नहुने हिसाबले सुरक्षा व्यवस्था मिलाइएको छ। साथै समयमा हतियार नबुझाउनेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृहले निर्देशनसमेत दिएको छ। मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ। पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ। निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी मन्त्रालयले दिएको छ।









































