काठमाण्डौँ, 28 अप्रेल
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेटमार्फत 1 लाख फुस् र खरका छाना विस्थापित गरिने बताउनुभयो। आगामी वर्षको बजेटमार्फत कम्तिमा पनि 1 लाख फुस तथा खरको छाना विस्थापन गर्ने योजनाका साथ मन्त्रालयले बजेट प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो। मन्त्रालयमा मंगलबार सांसदहरु सँगको छलफलपछि मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनी बसाल्ने सरकारको योजना रहेको जानकारी दिनुभयो।
राज्यमन्त्री मानन्धरले काठमाडौं उपत्यकामा नयाँ शहरको परिकल्पना गरिएको पनि बताउनुभयो। प्रस्तावित टोखा —छहरे सुरुङ मार्गदेखि निर्माणाधिन नौविसे सुरुङ मार्गसम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी उहाँले दिनुभयो।
करिब 65 किलोमिटरको उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्ने वैकल्पिक चक्रपथ अन्तरगत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छि, नौविसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिने छ। यस्तै गल्छिदेखि नुवाकोटको चाउथेहुँदै बन्चरेडाँडा—तिनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ। मन्त्री मानन्धरले कोभिड—19 का कारण बजेट ब्यवस्थापनमा केही सिमितता रहेपनि 165 वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तिमा एक नयाँ कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्ने बताउनुभयो।









































