काठमाडौं, 13 नोभेम्बर 2020
नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज काग तिहार र धनतेरस मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहारमा कागलाई मीठो मीठो खानेकुरा खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले आज काग तिहार मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा.रामचन्द्र गौतमले बताउनुभयो ।
कागलाई सन्देशवाहकका रुपमा पूजा गर्ने गरिन्छ । यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेकाे कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने हिजो बेलुकादेखि सुरु भएको छ ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । यस्तै गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि आज मनाइँदैछ । धनतेरसमा गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भएर बस्ने मान्यता छ ।
भोली शनिबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न 1 बजेर 48 मिनेटसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक 30 गते आइतबार गर्नुपर्ने शास्त्रीय वचन छ । आइतबार बिहान 11 बजेर 27 मिनेटसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।
मङ्सिर 1 गते सोमबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान 11 बजेर 37 मिनेटमा भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनु भएकोछ ।
मङ्सिर 1 गते सोमबार मह्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुन्छ ।
मङ्सिर 1 गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो । यसै दिनदेखि नेपाल संवत् 1141 शुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि मङ्सिर 1 गते नै गरिन्छ । मङ्सिर 2 गते बिहान 7 बजेर 4 मिनेटसम्म मात्र द्वितीया तिथि रहेकाले मङ्सिर 1 गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही संस्थाले मङ्सिर 2 गते भाइटीका मनाउने भनी गरेको निर्णय शास्त्रसम्मत नरहेको जनाउँदै नेवार समुदायका तीन जना पञ्चाङ्गकारले प्रकाशन गरेका तीन पात्रो (पञ्चाङ्ग) ले पनि मङ्सिर 1 गते भाइटीका उल्लेख गरेका छन् ।
सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशीले समितिको स्वीकृतिमा प्रकाशन गरेको पात्रोमा मङ्सिर 1 गते भाइटीका मनाउनुपर्ने उल्लेख छ । यो समुदायका तीनै जना पञ्चाङ्गकारले पनि कात्तिक 30 गते नै म्हपूजा गर्ने विषय आफ्ना पात्रोमा उल्लेख गर्नुभएको छ ।
मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यसले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठताको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।
झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा एक हप्ताअघिदेखि नै राजधानीलगायत प्रमुख शहरमा थरिथरिका बत्ती बाल्न शुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।









































