काठमाडौं, 30 अगस्त 2021
श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ । यस पर्वका अवसरमा विगतका वर्षमा काटिएको सार्वजनिक बिदा यस वर्षदेखि पुनः दिन थालिएको छ ।श्रीकृष्ण जन्माष्टमीका अवसरमा कृष्ण मन्दिरमा सोमबार बिहानैदेखि भक्तजनको भिड लागेको छ । जन्माष्टमीका दिन कृष्ण मन्दिरमा मेला लाग्ने गर्छ । यस वर्ष भने कोरोना संक्रमणका कारण मन्दिरमा सर्वसाधारणलाई प्रवेश नदिइने र नियमित पूजाविधि मात्र गरिने जनाइएको छ । विष्णुको आठौं अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ । त्यसैले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक मान्यता छ ।









































