नयाँ दिल्ली, 23 मार्च
भारतका विभिन्न राज्यबाट आएर दिल्लीको आनन्द विहार बस अड्डामा अलपत्र परेका 2 सयभन्दा धेरै नेपालीहरुलाई 3 बस गरि सोमबार साँझ नेपाल फिर्ता पठाइएको छ । दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा प्रवासी नेपाली संगठनका सदस्य सम्मीलित टोलीको सक्रियतामा उनिहरुलाई नेपाल फिर्ता पठाइएको हो । हिजो रातिदेखी फसेका 1 सयभन्दा धेरै नेपाली र आज आनन्दविहार बस अड्डा पुगेका गरि 215 जनाभन्दा धेरै नेपालीहरुलाई 3 बस गरि नेपाल पठाईएको प्रवासी नेपाली समाज भारतका आरबी खडकाले बताउनु भएको छ । ”हिजो राती 154 जना नेपालीलाई पठाएको र हिजो पठाउन नसकिएका बाँकी नेपालीहरु र आज आएका नेपालीहरु गरि 400 भन्दा धेरै नेपालीहरु आनन्द विहारमा अलपत्र परेका थिए” उहाँले भन्नुभयो।

दिल्लीको आनन्दविहार बस अड्डामा फस्ने नेपालीहरु प्राय सुदुरपश्चिम र पश्चिमका विभिन्न जिल्लाका मानिसहरु थिए । उनिहरु रेलको यात्र गर्दै दिल्ली पुगेका थिए भने लकडाउनको स्थितिपछी उनिहरु बसअड्डामा फसेका थिए ।

लकडाउनको स्थितिमा सबैलाई नेपाल पठाउन सम्भव थिएन, त्यसैले 4 सय मध्ये दिल्ली एनसीआरबाट आएका आधा जतिलाई फिर्ता पठाउनुका साथै केही टाढाबाट आएका नेपालीहरुलाई पनि दिल्लीमा रहेका आफन्तहरुकोमा पठाइएको खड्काले बताउनुभयो ।



लकडाउनको स्थितिका कारण बस अड्डामा भेला भएका नेपालीहरुलाई पहिला पुलिसले लाठी प्रहार समेत गरेको भएपनी आफुहरु पुगेपछि पुलिसले पनि कोपरेट गरेको खडकाको भनाई छ । भोकै रहेका उनिहरुलाई तिनै टाइमको खानाको व्यवस्था पनि गरिएको थियो । त्यसपछी साँझको बेला उनिहरुलाई फिर्ता पठाइएको हो ।
लकडाउनको स्थितिमा यात्राको वातावरण निकै कठीन भएपनि नेपाली दूतावास, युवा नेता सन्दीप राना र आफुहरुको प्रयासमा उनिहरु गन्तव्यसम्म पुग्ने वातावरण बनेको खड्काले बताउनु भयो।

खडकाले विभिन्न ठाउँबाट नेपालीहरु अलपत्र परेको खबर आउने गरेको र आफुहरुले उनिहरुको समस्या समाधानको प्रयास गरिरहेको उहाँले बताउनुभयो । उहाँले लद्दाखको लेहमा फसेका सल्यान, रोल्पा, दाङ तर्फका 3 सयभन्दा धेरै नेपालीहरुलाई पनि अहिले स्थानिय सरकारसँग सहकार्य गरि शिविरमा राखिएको छ ।

योसँगै प्रवासी नेता आरबी खडकाले कोरोना महामारीको रोकथामका लागी लकडाउन राम्रो कदम भएकाले कुनै पनि नेपालीले आत्तिनु पर्ने आवश्यकता नभएको र भारतका विभिन्न राज्यहरुमा रेल, बस, र अन्य सार्वजनिक यातायातका साधन बन्द भएकाले सबैलाई आफु भएकै ठाउँमा रहेर सुरक्षित रहन अपील गर्नुभएको छ । उहाँले नेपाल सरकारले पनि नेपाल-भारत सीमा बन्द गरिसकेकाले आफु बसोबास गरिरहेको स्थानमा रहन आग्रह गर्नु भएकोछ ।









































