काठमाण्डौ,20 अक्टोबर 2020
कोभिड-१९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने काँग्रेस नेताहरुले बताएका छन। नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गर्नुभएको छ। उहाँले संविधानले ग्यारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताउनुभयो। कोभिड-१९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उहाँले बताउनुभयो। मंगलबार नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताउनुभएको हो । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उहाँले माग गर्नुभयो। यस्तै काँग्रेस सह-महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताउनुभयो। जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उहाँले बताउनुभयो । त्यसैले काँग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताउनुभयो। सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उहाँले बताउनुभयो ।









































