नयाँ दिल्ली डेस्क, 9 मे 2020
आफ्नै देशको लागि पराई भएका नेपाली नागरिकहरू अब भारतमा अवहेलना सहन बाध्य भएका छन्। भारतको उत्तराखण्डस्थित रुद्रपुर र काशीपुरका क्वारेन्टिनबाट नेपालीहरूलाई निकालिएका छन्। 14 दिन क्वारेन्टिन बसेका 150 बढी नेपालीहरूलाई निकालिएको हो। उनिहरू झण्डै 115 किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल-भारत सीमा क्षेत्रमा पुगेका थिए। त्यहाँबाट भारतीय सीमा सुरक्षा बल (एस.एस.बी.) ले कुटेर लखेटेको डडेल्धुरा पर्शुराम नगरपालिका 10 का सुशील जोशीले बताए। उनले भने, ‘क्वारेन्टिनबाट निकालेपछि हिँडेरै सीमासम्म पुग्यौँ, त्यहाँ पनि कुटेर लखेटे, हामी भोकै छौँ, हाम्रो उद्धार होस्।’ नेपाल छिर्न नपाएपछि उनिहरू फेरि 15 किलोमिटर फर्किएर खटिमामा पुगेका छन्। यसरी निकालिएका मध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका छन्, भने कर्णाली प्रदेशका 11 जना छन्। जाजरकोटको जुनिचाँदे गाउँपालिकाका 9 जना र कालीकोटमा 2 जना रहेका छन्। ‘भारतले हामीलाई धपायो, नेपालले ल्याउन चासो दिएको छैन्, जाजरकोटका दिनेश बहादुर बस्नेतले भने, ‘हामी घर न घाटका भएका छौं।’ लकडाउन लागु भएलगत्तै नेपाल र भारतका नागरिकहरू जो जहाँ छन्, त्यही बस्ने र सीमामा आइपुगेकाहरुलाई पनि त्यही देशले क्वारेन्टिनमा राख्ने सहमति भएको थियो। तर, झण्डै 2 महिना क्वारेन्टिनमा बस्दा पनि उनिहरूको उद्धार भएको छैन्। बरू भारतीय क्वारेन्टिनहरूमा नेपालीहरूमाथि अमानवीय व्यवहार हुन थालेको छ।
यसअघि भारतको उत्तराखण्ड राज्यकै हल्द्वानीमा क्वारेन्टिन बसेका 17 जना नेपाली मजदुरहरूलाई भारतीय अधिकारीहरूले निकालिदिएको भिडियो सार्वजनिक भएको थियो। भारतीय पक्षले सित्तैमा खाना दिन नसक्ने भन्दै उनिहरूलाई क्वारेन्टिनबाट निकालिदिएको थियो।
यसै बीच क्वारेन्टिनबाट निकालिएका 150 बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाब स्वरुप भारतको उत्तराखण्ड प्रदेश काँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा धर्नामा बस्नुभएको छ। महासचिव कापरीले उनिहरूलाई भोजनको व्यवस्थापन समेत गर्नुभएको छ। “लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टिनमा राख्नुपर्ने, क्वारेन्टिन नबसेकालाई खटिमामै क्वारेन्टिनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भन्ने माग सहित उहाँ धर्ना बस्नुभएको हो।
उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले अलपत्र नेपालीलाई उद्धार गर्न नसकिने बताउनुभएको छ। सरकारले निर्णय गरेर ल्याउने निर्देशन दिएपछि मात्रै उनिहरूको उद्धार हुने उहाँले बताउनुभयो।









































