काठमाडौं, 23 नवम्बर 2021
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजराईलमा कामदार पठाउने प्रक्रिया पूर्णरुपमा पारदर्शी रहेको बताउनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री श्रेष्ठले इजराईलमा कामदार पठाउनका लागि अन्तिम छनौट इजराइलबाटै गोला प्रथाका माध्यमबाट भएको भन्दै पारदर्शीताका विषयका प्रश्न उठाउने ठाउ नरहेको बताउनुभएको हो । गोलाप्रथाबाट अन्तिम छनौटमा नपरेकालाई पनि इजराइल पठाउन सकिन्छ कि भनेर आफुले सम्बन्धित राजदूतसंग छलफल गरेको पनि उहाँले बताउनुभयो । उहाले रोकिएको श्रम सम्झौताका बिषयमा पनि गतिका साथ नयाँ सम्झौता र नया गन्तव्यका विषयमा मन्त्रालयले छलफल गरिरहेको धारणा राख्नुभयो । ९७ प्रतिशत नेपाली कामदार दक्ष नभई नै वैदेशिक रोजगारमा जाने गरेको भन्दै उहाँले अब भने सिप शिक्षालाई अनिवार्य गरिने जानकारी दिनुभयो । श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने धारणा पनि राख्नुभयो ।









































