काठमाडौं, 20 जून 2022
सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उहाँले सरकारका नाममा रुलिङ गर्नुभएको हो । सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । यस विषयमा सरकारलाई सत्यतथ्य सदन समक्ष पेश गर्न उहाले निर्देशन दिनुभयो । त्यसअघि बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै सांसदहरुले विरोध जनाएका थिए । सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी मूल्यवृद्धि गरिएको आरोप लगाउनुभयो । उहाँले पेट्रोलपम्पमा स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको आरोप लगाउनुभयो । छोटोछोटो समयमा मूल्यवृद्धि गरेर नागरिकको दैनिक जनजीवन प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले मूल्यवृद्धिका सम्बन्धमा सरकारको तर्फबाट उचित जवाफ नआउँदासम्म सदनको कारवाही अगाडि बढ्न नसक्ने जिकिर गर्नुभयो ।









































