काठमाण्डौँ, 25 अप्रेल
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु भएको छ। रमजानमा इस्लाम धर्मावलम्बीहरु एक महिनासम्म दिनभर निराहार वर्त अर्थात रोजा बसेर नमाज पढ्ने गर्दछन्। हिजरी सम्बतको नवौँ महिना अर्थात रमजान महिना सुरु भएपछि दिनभर अन्न-जल केहीपनि नखाई उपवास बस्ने र ब्रम्हाचार्यमा रहनुपर्ने परम्परामा रहेको छ। हिजरी संवत् १४४१ को हो भने, रमजान नवौँ महिना हो। यो पर्वमा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि खाई वर्त बस्ने प्रचलन रहेको छ। यस्तै रमजानमा मुसलमानको सबैभन्दा ठूलो धर्मग्रन्थ कुरान अवतरण भएको विश्वास सहित अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास पनि गरिन्छ। रमजान महिनाको अर्को ठूलो विशेषता दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु पनि हो।
रमदानमा मस्जिदमा सामूहिक नमाज आदा अर्थात् प्रार्थना समर्पण गर्ने परम्परा भएपनि यस वर्ष कोरोना भाइरस (कोभिड-19) को सन्त्रासका कारण इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गर्दै छन्। कोरोना भाइरस संक्रमणको रोकथामका लागि सरकारले लकडाउन लागू गरेकाले त्यसको परिपालना गर्दै घरमै सबै विधि पूरा गरेर नमाज आदा गरिदैँ छ। जसका कारण रमजानमा सँधै भिडभाड हुने देशभर रहेका मस्जिदहरु अहिले सुनसान देखिन्छन्।
शनिबार काठमाडौँको घण्टाघरस्थित नेपाली जामे मस्जिद पनि सुनसान देखिन्थ्यो। मस्जिद भित्रै बस्ने केही धर्मगुरु र कर्मचारीहरुले कोरोना भाइरसका लागि अपनाइएको समाजिक दुरी कायम गर्दै नमाज आदा गरेका थिए। नपाली जामे मस्जिदका अध्यक्ष अब्दुल समिमले कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यान दिइएर सबैलाई घरमै बसेर नमाज आदा गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरिएको बताउनुभयो। उहाँले लकडाउनको बेला अत्यावश्यक सामग्रीको अभाव भएकाहरुलाई राहत वितरण गरिएको समेत बताउनुभयो। जसबाट गर्दा रमजानमा नमाज आदा गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो।
रमजानमा बिरामी, गर्भवती महिला र अशक्तहरुलाई रोजा बस्न छुट रहेको छ भने रोजा बस्नेहरुले निश्चित नियम भने पुरा गरेको हुनुपर्ने छ। रमजानमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ।









































