काठमाडौं, 11 जनवरी 2023
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकता दिवसलाई औपचारिकतामा मात्रै सीमित गर्न नहुने बताएका छन्। ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान समारोहमा उनले यस्तो भनेका हुन्।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले सबैजना मिलेर एक भएर अघि बढ्नुपर्ने बताए।
‘एकता दिवसको फर्मालिट पुरा गरेर मात्रै हुँदैन। एक भएर काम गर्नुपर्छ,’ उनले भने।
यस्तै, सरकारसँग मिलेर काम गर्नुपर्ने धारणा उनले राखे। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिए प्रतिपक्षम बस्ने निर्णय गरेको छ। तर, तत्कालै सरकारमा जाने सम्भावना कांग्रेसको नरहेको उनले बताए।
उनले भने, ‘सरकारसँग मिलेर काम गर्नुपर्छ। अहिले सरकारमा जाने कुरो छैन। हामीले मिलिजुली जानुपर्छ भनेका हौं। देशको लागि एकता आवश्यकता छ।’
सोही कार्यक्रममा कांग्रेस नेता रामहरि खतिवडाले भने सरकारलाई विश्वासको मत दिए पनि आफूहरु प्रतिपक्ष नै रहेको बताए।
‘हामी प्रतिपक्ष नै हौं। राष्ट्रपति कार्यालय गएर हस्ताक्षर गर्ने सत्तापक्ष हुन् र हामी समर्थन गरे पनि प्रतिपक्षि हौं,’ उनले भने।









































