काठमाडौं, 23 मई 2022
अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा चाहेजति गर्न नसकेको बताउनुभयो । कोरोना महामारीका बेला ठप्प बनेको फुटबल क्षेत्रलाई केहि चलायमान गराउन आफुले प्रयास गरेको उहाको भनाई छ । उहाले फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम चार वर्षमा भएको दावी गर्नुभयो । पहिलो कार्यकालमा धेरै कामहरु सुरु भएको र ती कामहरुलाई पुर्णता दिएर नेपाली फुटबललाई अझैं माथि पुर्याउन पनि फेरि उम्मेदवारी दिन लागेको उहाले बताउनुभयो । उहाले एन्फामा खेलाडीहरुको तलब बृद्धिको काम भएको, खेलाडीहरुलाई उपचार लगाएतका विभिन्न सुविधाहरु उपलव्ध गराएको पनि बताउनुभयो । शेर्पाले आफु निर्वाचित भएर आएमा एन्फालाई डिजिटल प्रविधीमा लैजाने घोषणा गर्नुभयो । यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहनुभएको छ । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।









































