काठमाण्डौं,30 जुलाई 2021
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सम्झौंता संसदमा पेश गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले एमसीसी कार्यान्वयन सम्झौंतामा रहेका कतिपय प्रावधान राष्ट्रघाती रहेको उल्लेख गर्दै त्यसलाई संशोधन नगरी संसदबाट पारित हुन नदिने चेतावनी समेत दिनु भयो । उहाँले एमसीसीमा राखिएको कतिपय प्रावधान नेपालको संविधान विपरित रहेको, त्यो नेपालको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, नेपालको राष्ट्रको हित विपरित रहेकाले त्यसलाई संशोधन नगरी अघि बढाउन नमिल्ने बताउनुभयो ।
उपाध्यक्ष रावलले भन्नु भयो, “एमसीसीसँग भएका सबै सम्झौता संसदमा पेश गर्नु पर्दछ । जनताले त्यस सम्झौतामा उल्लेख भएका सबै विषय थाहा पाउनु पर्दछ । प्रतिनिधिसभाका प्रत्येक सदस्यले त्यो थाहा पाउनुपर्ने अधिकार छ । त्यहाँ भएका नेपालको राष्ट्रिय हित, स्वाधिनता, स्वतन्त्रता, स्वभिमान र नेपालको स्वतन्त्र परराष्ट्र नीतिका प्रावधानहरु परिवर्तन नभई त्यो सम्झौता गरियो भने राष्ट्रघात हुनेछ । नेपाली जनताले विगतमा पनि असमान सन्धिका कारण व्यहोर्नु परेको पीडाको फेरी पुनरावृत हुनेछ । त्यसका रहेका सम्झौता संशोधन गरेर मात्रै पारित गर्नु पर्दछ ।”
उपाध्यक्ष रावलले विकासको नाममा कम्पनी खडा गरेर आफ्नो भूमि कुनै पनि देशलाई सुम्पन नसकिने अडान दोहोऱ्याउनु भयो । नेपालमा कुनै पनि देशको लगानी ल्याउन पाईन्छ तर त्यो हाम्रो संविधान र स्वतन्त्र परराष्ट्र नीति अनुसार हुनु पर्दछ भन्दै उपाध्यक्ष रावलले सो सम्झौतामा राखिएका कतिपय प्रावधान नेपालको हितमा नरहेको पटक पटक दोहोऱ्याउनु भयो ।









































