काठमाडौं, 14 अप्रैल 2023
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले परिणाममुखी काम गर्न सरकारलाई सुझाव दिएका छन् । सङ्घ, प्रदेश र पालिका पाँच वर्ष चलाउने जिम्मा लिएको कांग्रेससहितको सरकारले अब अरू कसैलाई दोष दिएर उम्कने ठाउँ नभएको पनि उनले बताए। काठमाण्डौंमा मंगलवार आयोजित नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनमा बोल्दै महामन्त्री थापाले एमालेलाई दोष दिएर वा पूर्वराजालाई दोष लिएर सरकार उम्कन नमिल्ने तर्क गरे। उनले पाँच वर्षपछि नेपाली कांग्रेसले नागरिकको माझमा जाँदा यो–यो काम गरेँ भनेर जान सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयो । महामन्त्री थापाले शिक्षकहरूको तलब, भत्ता बढाउन पनि सरकारसँग माग गरे। शिक्षकहरूलाई खुसी नबनाई देशको शैक्षिक क्षेत्रको विकास नहुने भएकाले सरकारले उनीहरूको आवश्यकता पूर्ति हुने गरी सेवा सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुने थापाको भनाइ थियो।









































