काठमाडौं, 20 नोवम्बर 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्धाउन अरु १० दल आएपनि कुनै फरक नपर्ने स्पष्ट पार्नुभएको छ । एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले सिद्धाउन पाँच दलिय गठबन्धन बनेको भन्दै अन्य १० दल आएपनि कुनै फरक नपर्ने बताउनुभएको हो । उहाँले एमालेलाई कसैको बैशाखि टेकेर हिड्नुपर्ने अवस्था नरहेको भन्दै आगामी निर्वाचन एमाले एक्लैले बहुमत ल्याउने दावी गर्नुभयो । त्यस्तै उहाँले आगामी निर्वाचनमा सत्ता गठवन्धनका केही दल कांग्रेसको औंला नसमाति हिँड्नै नसक्ने तर्क गर्नुभयो । आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठवन्धन रहने कुरा गरिरहेको उहाँको भनाई छ । उहाँले संसदबाट प्रधानमन्त्री बन्नुपर्ने र हट्नुपर्ने भएपनि अन्तैबाट प्रधानमन्त्री नियुक्त भएको तर्क गर्नुभयो । एमाले नेतृत्वको सरकारले मुलुकमा विकासको लहर ल्याएकै कारण सरकारबाट हटाइएको उहाँले बताउनुभयो । उहाँले अहिले विकासको गति अवरुद्ध भएको भन्दै विकास निर्माणको कार्य अगाडि बढाउन एमालेकै नेतृत्वमा सरकार बन्नुपर्ने जिकिर गर्नुभयो । ओलीले अहिले एमाले सफा भएको भन्दै सदृढ एकताका साथ अगाडि बढ्ने उल्लेख गर्नुभयो । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।









































