काठमाडौं, 18 अक्टूबर 2022
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन् । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरेका छन् । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको दाबी गरेका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कुल्चिने र लोकतन्त्र मास्ने कामलाई रोक्नका लागि गठन भएकाले सत्तारुढ गठबन्धन प्राकृतिक र पवित्र रहेको अध्यक्ष नेपालको तर्क थियो ।
उनले भने, ‘गठबन्धनबारे प्रश्न उठेको छ । विपक्ष एमालेले बनाएको गठबन्धन अपवित्र हो । हाम्रो सत्तारूढ गठबन्धन चाहिँ पवित्र हो । हाम्रो गठबन्धन गणतन्त्र र संविधान जोगाउनका लागि भएको हो । दुई–दुई पटक संविधान कुल्चने काम भएको थियो, देशलाई अस्थिरतातर्फ लैजाने प्रयत्न भएको थियो । त्यसको विपक्षमा हामी उभियौँ, देशको संविधान जोगायौँ, लोकतन्त्र पनि जोगायौँ । यसरी पवित्र उद्देश्यका साथ हामीले गठबन्धन गर्यौ ।’
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई विजयी गराउनका लागि एकताबद्ध भएर अगाडि बढ्न पनि गठबन्धनमा आबद्ध दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
यसका साथै उनले राणाशाहीको विरुद्धमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी मिलेपछि मात्रै राणाशासनलाई धराशायी बनाउन सकेको बताए । उनले भने, ‘पञ्चायती निरंकुशतालाई पनि यी दुईटा पार्टी नमिलेसम्म हामीले पराजित गर्न सकेका थिएनौं । जुन दिन हामीले मिलेर, एकतावद्ध भएर आन्दोलन सुरु गर्यौं । यो सफलताको शिखरमा पुग्यो ।’
अध्यक्ष नेपालले देशको शासन सञ्चालनमा त्रुटि, कमि रहेको औँल्याउँदै त्यसलाई सुधार गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए ।









































