काठमाडौं, 7 जुलाई 2022
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय तत्काल अमेरिकालाई पत्राचार गर्न सरकारसँग माग गरेका छन् ।प्रतिनिधिसभा बैठकको बिहीबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख सचेतक गुरुङले नेपाल सरकार मन्त्रिपरिषद्को सो निर्णय परराष्ट्र मन्त्रालयले अझै अमेरिकालाई पत्राचार नगरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरे । उनले एमसीसी सम्झौतासँगै संसद्बाट पारित १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्छ कि गर्दैन ? भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्ने पनि बताए ।उनले सो व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेमात्रै सो परियोजना नेपालमा लागू हुने पनि स्मरण गराए । प्रमुख सचेतक गुरुङले भने, ‘पहिलो कुरा सरकारले निर्णय गरेको एसपीपी सम्झौता नगर्ने भन्ने निर्णय अहिलेसम्म परराष्ट्र मन्त्रालयबाट पत्राचार भएको छैन । अविलम्ब पत्राचार गरियोस् । प्रमुख सचेतक गुरुङले नेपाल आईपीएस (इन्डोप्यासेफिक स्ट्राटिजी) को सदस्य राष्ट्र बन्नै नसक्ने धारणा समेत राखे ।









































