काठमाडौं, 21 जुलाई 2022
सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरेका छन् । प्रतिनिधसभाको बिहीबारको बैठकमा गुरुङले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने मन्त्रिपरिषद्को निर्णय अगाडि बढाउन ढिलाइ भएकोमा आपत्ति जनाए । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले आनाकानी गरिरहेको र अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई कसरी सहभागी गराउने भन्ने विभिन्न रणनीति जारी रहेको भन्दै गुरुङले एसपीपी अस्वीकार गर्नेबारे पत्राचार गर्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । उनले किन त्यसो भइरहेको हो भन्नेबारे विभिन्न आशंका भएकाले सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन् । ‘एसपीपी सम्झौता गर्न सकिँदैन भनेर अमेरिकालाई पत्राचार गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । मन्त्रिपरिषद्को निर्णयविपरीत परराष्ट्र मन्त्रालयका प्रवक्ताले अभिव्यक्ति दिनुभएको छ,’ उनले भने, ‘सभामुखमार्फत अविलम्ब एसपीपीसम्बन्धि पत्राचार अगरियोस् भन्ने रुलिङ माग गर्न चाहन्छु ।’ उनले भने ‘अर्को सैन्य सम्झौता गर्ने रणनीति तयार भइरहेको छ । जसरी भए पनि नेपाललाई हिन्द प्रशान्त सैन्य रणनीतिमा लैजाने र सैन्य सहमतिमा लैजाने तयारी चलिरहेको देखिन्छ । सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ ।









































