सिक्किम, 11 फरवरी 2020/ के.एन. शर्मा
सिक्किमको सत्तारुढ एस.के.एम. पार्टीले आज गान्तोकको पार्टी मुख्यालयमा एक कार्यक्रमबीच प्रतिवाद दिवस मनाएको छ। उल्लेखनीय छ, आजकै दिन 2013-मा तादोङमा रहेको पार्टी मुख्यालयमा तत्कालीन आइ.जी.पी. ल एण्ड अर्डर अक्षय सचदेवाले आइ.आर.बी. जवान लगाएर एस.के.एम. पार्टीका कार्यकर्ताहरूमाथि बर्बर्तापूर्वक लट्ठाचार्ज गर्नुभएको थियो। त्यस समयदेखि एस.के.एम. पार्टीले 11 फरवरीलाई प्रतिवाद दिवसको रुपमा मनाउँदै आएको छ। सत्ता सम्हालेपश्चात् भने एस.के.एम. पार्टीले पहिले पटक प्रतिवाद दिवस कार्यक्रम गरेको हो।

कार्यक्रममा सिक्किम सरकारका परिवहन मन्त्री सञ्जित खरेल मुख्य अतिथिको रुपमा उपस्थित रहनुभएको थियो भने विधायक आदित्य गोले, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सी.पी. भट्टराई, श्रीमती कला राईलगायत पार्टी कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा उक्त दिनको दुःखद घट्नालाई स्मरण गर्दै वक्ताहरूले प्रतिवाद जनाएका थिए।

स्मरण रहोस्, उक्त घट्नालाई लिएर त्यस समय एस.के.एम. पार्टीको पक्षमा श्रीमती कला राई अनि अन्यले देशको सर्वोच्च न्यायालयमा अक्षय सचदेवाविरुद्ध मुद्दा दायर गरेका थिए भने सरकारमा आएपछि न्यायालयकै निर्देशनमा सचदेवालाई निलम्वन पनि गरेको थियो।

केही राजनीतिकर्मी साथै सामाजिक कार्यकर्ताहरू मिलेर गठन गरेको संगठन सिक्किम अगेन्स्ट सी.ए.ए. अर्थात साका-ले एस.के.एम. पार्टीले आजको दिनलाई प्रतिवाद दिवसको रुपमा होइन तर कार्यवाही दिवसको रुपमा पालन गर्नु उचित हुने सुझाव दिएका छन्। सङ्गठनका सदस्यहरू नवीन किरण प्रधान, भरत बस्नेत, पुण्य कोइराला आदिले आजनै पत्रकार सम्मेलन डाकेर त्यसताकका विपक्षी पार्टी एसकेएमका कार्यकर्ताहरूलाई आइ.जी.पी. अक्षय सचदेवाले पार्टी कार्यालयभित्रै पसेर जसरी निर्मतापूर्वक लट्ठीचार्ज गऱ्यो त्यो साँच्चै सिक्किमको राजनीतिक इतिहासमा कालो दिन भएको बताएका छन्। यसको आफूहरूले पनि प्रतिवाद जनाउँदै आएको तर, अब एस.के.एम. पार्टी सत्तामा आएकोले प्रतिवाद होइन कार्यवाही गरेर देखाउनुपर्ने उनीहरूको भनाई छ। आगामी दिनहरूमा त्यस्तो घट्ना न दोहोरियोस् भनेर दोषीलाई कार्यवाही गरी उदाहरण पेश गर्नुपर्ने तर न्यायालयमा चलिरहेको मुद्दालाई नै फिर्ता लिएर एस.के.एम. पार्टीले सम्पूर्ण सिक्किमे जनतालाई निराश पारेको उनीहरूको गुनासो छ।










































