काठमाडौं, 15 अक्टूबर 2022
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन्। सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उनले आज बिहान दरबार अवलोकन गरेका हुन्। गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए। पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उनले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताए। उनले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताए। दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए।









































