काठमाडौं, 15 फरवरी 2023
कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपतिलाई एमालेले ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको आरोप लगाएका छन् । वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अझै प्रतिनिधि सभा सुरक्षित भएको महशुस गर्न नसकेको बताए । उनले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बन्न नदिने जिकिर गरे । संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावक राष्ट्रपति हो भन्ने स्थापित गर्न कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने बताए। ‘यहाँ रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ। आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ। आवश्यकता पर्यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ। त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको भनेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं,’ पौडेलले भने।
उनले संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यतामा दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए। उनले अहंकारले देश नबन्ने र आजको परिस्थिति सम्हाल्न नसकिने पनि बताए।
‘प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो आज किन सुस्त छ?,’ ओलीलाई लक्षित गर्दै पौडेलले भने, ‘बालुवाटार र बालकोट दौड व्यापक बढेको छ।’
ओलीले प्रधानमन्त्रीभन्दा पनि माथि सुपर प्रधानमन्त्री भएर फुर्ती दिएको आरोप लगाउँदै आज किन सुस्त रहेको भन्दै उनले प्रश्न समेत उठाए ।









































