काठमाडौं, 11 जनवरी 2023
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ‘ओली प्रवृत्तिको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । केपी ओलीले मंगलबार संसद् बैठकमा गरेको सम्बोधनलाई लक्षित गर्दै ओलीले अहिले पनि आफैंलाई सर्वेसर्वा ठान्ने गरेको र गल्ती (संविधान विघटन) स्वीकार नगरेको भन्दै त्यसो नगर्न अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई सुझाव दिए । प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्वीकार नगर्ने ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उल्लेख गर्दै उनले त्यस्तो नहुन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास, निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ बुँदे सर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पारे ।उनले आफ्नो पार्टीले दिएको समाजवादको खाकासहितको १५ बुँदे सुझावलाई ध्यान दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल अघि बढ्ने विश्वाससमेत व्यक्त गरे । अध्यक्ष नेपालले संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढ्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराएका थिए । ‘कमसेकम विगतमा गल्ती हुन पुग्यो भनेर महसुश भए त हुन्थ्यो । तर यो महसुश नै नगर्ने राजनीतिक वृत्तमा एउटा प्रवृत्ति देखिन्छ–मैले जे गरेँ, ठीक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुश नगर्ने, अहंकार प्रर्दशन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ने ठान्ने, आफूलाई सुप्रिम र सुप्रिमो ठान्ने नेपाली राजनीतिमा पनि यो प्रवृत्ति देखिन्छ । यो प्रवृत्तिको सरकार वर्तमान प्रधानमन्त्री नभइदिनु होला है । मेरो आग्रह छ । विनम्रतालाई अवलम्बन गर्नु होला । संविधानको मूल मर्म र भावनालाई ध्यान दिनुहोला । राम्रो संस्कार र संस्कृति अवलम्बन गर्नुहोला । राम्रो संस्कार अवलम्बन गर्नु भयो भने तपाईँलाई असल मानिस भनिएला । भ्रष्टाचारबाट जोगिनुभयो भने तपाईँ एउटा राम्रो प्रधानमन्त्रीको कोटीमा पर्नु होला । र देशको विकासले गति लिन सक्यो भने गति लिने काममा भूमिका खेल्नु भयो भने तपाईँले इतिहासमा नाम कमाउनु होला,’ अध्यक्ष नेपालले भने ।उनले आफूहरूले यो सरकारलाई १५ बुँदे सर्तसहित समर्थन गरेको पनि बताएका थिए । ती सर्तमा राष्ट्रियताको विषयदेखि जनजीविकाका विषय हुँदै युवा बेरोजगारीका विषय पनि समेटिएको छ ।









































