काठमाण्डौँ 25 फरवरी 2020
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले नेपाल कम्युनिष्ट पार्टी र देशको हितका लागि राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्नूभएको हो। थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामा दिन आग्रह गर्नुभयो।
थापाले पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा र विजय मिश्रबीचको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिना अघि नै प्रधानमन्त्रीले सुनेको दावी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन हिम्मत छ की छैन? भन्दै प्रश्न गर्नुभयो।
थापाले डाँडाँकाँडा र तालतलैया डुलेर बस्नुभन्दा प्रधानमन्त्रीले संसदमा आएर आँखामा आँखा जुधाएर जवाफ दिनुपर्ने बताउनुभयो। अडियो डेढ महिना अगाडी सुनेको विषयमा प्रधानमन्त्रीले जे भनेपनि उहाँका आसोपासेहरुले थाहा थिएन भनेर जवाफ दिइरहेको थापाले बताउनुभयो।
थापाले सेक्युरिटी प्रेसको ठेक्का मात्रै नभएर फोर जी विस्तार, अप्टिकल फाइबर विस्तार, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याज स्थापना लगायतका ठेक्काका बारेमा सबै कुरा थापा भएपनि अहिले परिस्थिति नियन्त्रण बाहिर गएपछि बस्कोटा बलिको बोको भएको भनेर नागरिकले भनिरहेका छन् भन्नुभयो।
प्रधानमन्त्री ओलीलाई थापाले बालुवाटारमा ऐन छ कि छैन भनेर समेत प्रश्न गर्नुभएको छ। नेकपाका कार्यकर्ताहरुले प्रधानमन्त्रीको विषयमा र भ्रष्टाचारको विषयमा ठूलो स्वरले बोल्न नसकेपनि आफुहरुसँग कानेखुसी गर्दै गुनासो गर्ने गरेको थापाले बताउनुभयो।
एमसीसी प्रकरणमा पार्टीका खाँटी राष्ट्रवादीहरुले प्रधानमन्त्रीलाई तह लगाएको भन्दै थापाले एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याउने कुरामा कसरी कमजोर देखिनुभयो भन्दै थापाले प्रश्न गर्नुभयो।
प्रधानमन्त्रीको जन्मादिनका विषयमा बाहिर टिप्पणी भइरहेको भन्दै थापाले पूर्वराजाहरुको न्यास्रो मेटाउने गरी प्रधामन्त्रीले जन्मदिन मनाएको भन्दै बाहिर प्रश्नहरु उठिरहेको उहाँले बताउनुभयो।
यी सबैकुरा प्रधानमन्त्रीलाई थाहा भएर पनि प्रधानमन्त्री थाहा नपाएजस्तो गर्नुभएको भए पाप हुने र पाए नपएको भए प्रधानमन्त्रीको अक्षमता हुने भन्दै थापाले उहाँको राजीनामा माग समेत गर्नुभयो।
थापाले प्रधानमन्त्री ओलीलाई संसदमा उपस्थित हुनका लागि रुलिङ गर्न पनि आग्रह गर्नुभभएको छ।









































