काठमाडौं,६ फरवरी
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्न नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र आफ्नो परिवारको नाममा किन्ने नेकपा महासचिव विष्णु पौडेललाई कारवाही अघि नबढाएकोमा नेपाली कांग्रेसले आपत्ति प्रकट गरेको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिगत बनाउन नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपाल र जग्गा किन्ने पौडेललाई उन्मुक्ति दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचारको मुद्दा निष्पक्ष नभएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय ! एक पूर्वमन्त्री कमरेडको सिरानीमा लालपूर्जा! मुद्दा कसलाई ? विजयकुमार गच्छदारलाई ?’, शर्माले ट्वीट गर्दै भनेका छन् ।
अख्तियार पूर्वाग्रही भएकोमा रोष प्रकट गर्दै प्रवक्ता शर्माले एनिमल फार्म कितावको एक उद्धरण पनि लेखेका छन्, ‘सबै जनवारहरू समान हुन् तर केही जनवारहरु अरुभन्दा धेरै समान छन् ।’
अख्तियारले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिँदै नीतिगत निर्णयकर्ता र लालपूर्जा आफ्नो नाममा पारी सिरानीमा हाल्नेलाई कारवाही नगरी कांग्रेस नेता विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको भन्दै विरोध जनाएका छन् ।
उता, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालुवाटारको सरकारी जग्गा प्रकरणमा मुख्य दोषीलाई उन्मुक्ति दिएर विजयकुमार गच्छदारविरुद्ध मुद्धा चलाइएकोमा आक्रोश व्यक्त गरेका छन् ।
वरिष्ठ नेता पौडेलले राजनीतिक पूर्वाग्रही भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाएको आरोप लगाए ।
‘लालपुर्जा लिने व्यक्तिलाई बलियो छ भनेर छाड्ने । क्याबिनेटको नेतृत्व गर्ने प्रधानमन्त्रीलाई पनि उन्मुक्ति दिने’, उनले प्रश्न गर्दै भन्ने, ‘राजनीतिक पूर्वाग्रही भएर विजयकुमार गच्छदारलाई मात्रै मुद्धा चलाउने ? यस्तो पनि हुन्छ ? कहिन नभएको जात्रा ।’
ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा अनौठो र प्रश्न उब्जाउने खालको भएको नेता पौडेलले बताएका छन् ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा कांग्रेस उपसभापति विजय गच्छदारलाई तत्कालीन मन्त्रीको हैसियतले मुद्दा दर्ता गरिएको तर कम्युनिष्ट पार्टीका भएका कारण तत्कालीन प्रधानमन्त्रीमाथि मुद्दा नचलाइएकोमा नेता पौडेले विरोध जनाएका छन् ।









































