काठमाडौं, 25 दिसम्बर 2021
नेपाली कांग्रेसको १४औँ महाधिवेशबाट निर्वाचित सभापतिसहितका पदाधिकारी र सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका पदाधिकारी र सदस्यलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित समारोहमा पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा नवनिर्वाचित सभापति देउवाले सबैको भावनालाई कदर गरेर पार्टी सञ्चालन गर्ने भन्दै सहयोग गर्न आग्रह गर्नुभयो । काग्रेस वास्तविक रुपमा नै लोकतान्त्रीक रहेको र जनतासंग भिजेको पार्टी रहेको उहाको भनाई छ । सभापति देउवाले कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको र तल्लो तहदेखि नै महिला, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु लगायत सबैलाई नेतृत्वमा अवसर दिइएको जिकिर गर्नुभयो । पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरिएसँगै नेपाली कांग्रेसको १४औँ महाधिवेशन औपचारिकरुपमा समापन भएको छ । गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । यसबाहेक नयाँ विधानअनुसार सभापतिले ३३ जना मनोनित गर्न बाँकी छ ।









































