नयाण दिल्ली 24 फरवरी 2020
कानुङ लाङ्घाली समाज दिल्लीले आइतबार नयाँ दिल्लीमा मगर दिवसको अवसरमा भव्य मगर महोत्सवको आयोजना गरेको छ। मगर कला संस्कृति र धरोहरको जगेर्ना गर्ने उद्देश्यले गत वर्षदेखि समाजले मगर महोत्सव आयोजना गर्दै आएको छ। समाजका अध्यक्ष फर्श थापाले अध्यक्षता गरेको कार्यक्रममा भारतका आदिवासी मामिला मन्त्री अर्जुन मुण्डा, युवा नेता सन्दीप राना, सिक्किम विधानसभाकी विधायक राजकुमारी थापा, नेपाली दूतावासका सांस्कृतिक काउन्सलर होम प्रसाद लुइँटेल, मगर समाज केन्द्र नेपालका विदेश विभागबाट रक्षा राईका मगरलगायतको उपस्थिति रहेको थियो। समारोहमा भ्रमण वर्ष 2020 लाई पनि प्रवर्धन गरिएको थियो।

समारोहमा विभिन्न वक्ताहरूले नेपाल एकिकरणको बेलादेखि मगर जातिले गर्दै आएको योगदानको चर्चा गरेका थिए। मगर समाज सोझो र लडाकु समाज भएकाले यो समाज अझैपनि ठूलो पदमा पुग्न नसकेको वक्ताहरूले बताएका थिए।


ठूलो संख्यामा मगर समाजलगायत प्रवासी नेपालीहरूको उपस्थिति रहेको कार्यक्रममा मगर समूदायसँग सम्बन्धित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। समारोहमा स्थानीय कलाकारहरूका साथै नेपालका राष्ट्रिय स्तरका गायक-गायीकाले प्रस्तुती दिएका थिए।












































