काठमाण्डौँ, 19 मार्च 2020
कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको संख्या घटाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको हो। समितिले अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदि बन्दी रहेकोले जोखिम उच्च रहेको जनाएको छ। समिति सभापति कृष्णभक्त पोखरेलले विदेशमा समेत यस्तो अभ्यास भएको उल्लेख गर्दै गृह मन्त्रालयलाई यसको प्रबन्ध मिलाउन आग्रह गरेको छ।
त्यस्तै समितिले कोरोना भाइरसको परिक्षणका लागि सात वटै प्रदेशमा मडिकल टिम, इक्युपमेन्ट र औषधिको प्रयाप्त व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार कारोना भाइरसको परिक्षणलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो। सभापति कृष्ण भक्त पोखरेलले देशभरका स्वास्थ्य संस्थामा जनसंख्याको चाप अनुसार आइसियु र आइसोलेसन बेडको व्यवस्था मिलाउने विषयमा समितिको ध्यानाकर्षण भएको बताउनुभयो।
उहाँले अहिले व्यवस्था गरिएका बेडहरु र इक्युपमेन्टले नपुग्ने भएकोले सात वटै प्रदेशमा उपचार हुन सक्ने गरी स्वास्थ्य केन्द्रहरु तोक्न समेत निर्देशन दिनुभयो। त्यस्तै मास्क, औषधि लगायत दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव र कालाबजारी भइरहेकाले त्यसलाई रोक्न प्रभावकारी अनुगमन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।









































