काठमाण्डौ, 6 नोवेम्बर 2020
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काष्ठमण्डप पुर्ननिर्माणको काम तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। काष्ठमण्डप पुर्ननिर्माणको काम आगामी वर्षको बैशाख १२ गते सम्पन्न गर्ने लक्ष्यका साथ अगाडी बढीरहेको उल्लेख गर्दै उहाँले तोकिएकै समयमा काम सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको हो । सहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठसहित काष्ठमण्डप पुनर्निर्माणको कार्यप्रगतिका विषयमा स्थलगत अनुगमनमा पुग्नुभएका मन्त्री ज्ञवालीले तोकिएको समय र तोकिएभन्दा कम लागतमा पुर्ननिर्माणको काम सम्पन्न भइरहेकोमा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले काष्ठमण्डपको काम तिव्रताका साथ र मौलिकताका साथ भइरहेकोमा खुसी समेत व्यक्त गर्नुभयो । स्थानीय समेतको सहभागिता हुँदा निर्धारित समयमा कुल अनुमानित लागत भन्दा एक तिहाइ कम रकममा सम्पदाको संरक्षण र पुर्ननिर्माण भइरहेको उहाँले बताउनुभयो। उहाँले सांस्कृतिक सम्पदाहरुको पुर्ननिर्माणमा स्थानीयलाई सहभागि गराउने नितिले पुर्ननिर्माणको क्षेत्रमा नमुना स्थापित गरेको पनि बताउनुभयो । स्थानीयको सहभागितामा हुने पुर्ननिर्माणले सम्पदाहरुको मौलिक स्वरुप नविग्रिने उहाँले बताउनुभयो ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी वर्षको बैशाख १२ गते उद्घाटन गर्ने गरी अहिले काम जारी रहेको छ ।









































