काठमाण्डौँ, 18 मार्च 2020
किसानले उत्पादन गरेको कुनैपनि वस्तुको बिक्रीको ग्यारेन्टी सरकारले लिने भएको छ। कृषि तथा पशुपक्षीं विकास मन्त्री घनश्याम भुसालले किसानले उत्पादन गरेको वस्तुको समर्थन मूल्य तोक्ने र त्यसको विक्रीको ग्यारेन्टी सरकारले लिने घोषणा गर्नुभएको हो। बुधबार मन्त्रालयमा पत्रकार सममेलन गरी आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सरकारले तोकेको मूल्यमा किसानको उत्पादन बजारमा बिक्री नभए सरकारले किनिदिने बताउनुभएको हो। उहाँले किसानले उत्पादन गरेको नगदे बालिमा लागतपछिको बचत मूल्य सहितको मूल्य निर्धारण गर्ने बताउनुभयो। जसबाट किसानलाई 25 प्रतिशतसम्म नाफा सुनिश्चित हुने दावी समेत उहाँले गर्नुभयो। मन्त्री भुसालले व्यक्तिगत रुपमा किसानलाई दिने अनुदानमा सुधार गरी मल, बीउ, सिचाईं र विजुलीमा अनुदान दिने व्यवस्था गर्ने नीति लिएको बताउनुभयो।
उहाँले अहिले कृषि उपजको विक्री वितरणको प्रकृयामा दलाल पूँजीवाद रहेको र त्यसलाई समाप्त पार्नेगरी पाँचवटा नीतिगत आधारहरु समेत प्रस्तुत गर्नुभयो। उत्पादन सामग्रीमा अनुदान, सबै किसानको घरदैलोमा प्राविधिक सेवा-टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गरिएको उहाँले बताउनुभयो। उहाँले हरेक किसानले प्राविधिक सेवा पाउने कुराको ग्यारेन्टी गर्न स्थानीय तहमा 6 हजारको संख्यामा रिक्त रहेका कृषि तथा पशुसेवा तर्फका प्राविधिक जनशक्तिको दरबन्दी तत्काल पदपूर्ति गर्न लागिएको समेत बताउनुभयो। त्यस्तै उहाँले किसानलाई 5 प्रतिशत ब्याजदर नबढ्नेगरी सस्तो ब्याजमा सुलभ ऋणको प्रत्याभूति गरिएको घोषणा समेत गर्नुभयो।









































