काठमाडौं, 12 अक्टूबर 2022
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले आफू कुनै पनि हालतमा संसदीय व्यवस्थामा आत्म समर्पण नगर्ने बताएका छन्। उनले आफ्नो पार्टी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभाको पक्षमा नरहेको भन्दै संसदीय व्यवस्थाबाट देशको समस्या समाधान नहुने बताए। मंगलबार कपिलवस्तुको शिवराज नगरपालिकाको शिवगढिमा नेपाल कम्युनिष्ट पार्टीको नवौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चन्दले सो कुरा बताएका हुन्। महासचिव चन्दले यस पटकको संसदीय चुनाव खारेज गर्नुपर्ने बताए।
प्रचण्ड, बाबुरामको बिसर्जनवादका विरुद्ध लड्दै खरानीबाट क्रान्तिको झण्डा उठाएको उनले बताए। नवौँ महाधिवेशन १३ जना सहिदको रगतसँग मिसिएको क्रान्ति भएको र कुनै पनि हालतमा दलाल संसदीय व्यवस्थामा आत्मसमर्पण नगर्ने उनले दृढतासहित व्यक्त गरे। महासचिव चन्दले दलाल पुँजीवाद भत्काउँदै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न नेकपा दृढ रहेको बताए। एकीकृत जनक्रान्तिले क्रान्तिको नयाँ ज्योति बोकेको भन्दै पुजीवाद परास्त गरी क्रान्ति विजयी भइ छोड्ने उनले दाबी गरे। ‘नवौँ महाधिवेशनले सर्वहारा वर्ग, श्रमिक समुदाय, मजदुर, किसान र सुकुम्बासीको राज्यसत्ता स्थापना गर्ने कार्यदिशा तय गर्नेछ।’ उनले भने। उनले लखन थापाको रगतदेखि जनयुद्धको रगतले एकीकृत जनक्रान्ति जारी रहेको बताए।
मंगलबार देखि असोज ३१ गतेसम्म चल्ने महाधिवेशनको नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लवले डिजिटल प्रविधिमार्फत ब्यानर खोलेर, ड्रोन मार्फत ब्यानरसहित पुष्पवृष्टि गरेर ९ औँ महाधिवेशनको उद्घाटन गरका थिए। पार्टीका महासचिव विप्लव लगायत केसन्द्रय समिति, प्रतिनिधि तथा जनसमुदायहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्दा राता ड्रेसमा सुसच्जित युवाहरूको दस्ताले परेड तथा सलामी अर्पण गरेका थिए। महाधिवेशनमा देशभर तथा अन्तर्राष्ट्रिय रूपमा विभिन्न देशमा रहेका संगठनका प्रतिनिधि गरि साढे सात सय प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको छ।









































