बुटवल, 2 नवम्बर 2022
गृहमन्त्री बालकृष्ण खाँणले कुनै समूहलाई निर्वाचनमा भाग नलिने अधिकार भए पनि निर्वाचन बिथोल्ने अधिकार नरहेको बताएका छन् । बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिन नपाइने उनले बताए । गृहमन्त्री खाँणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको बताए ।
‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
उनले निर्वाचन विरोधी समूहलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल थालिरहेको बताए ।
‘हामी मिल्नेसम्म लचक भएका छौं,कानुन संशोधन गरेर हुन्छ कि ऐन तर्जुमा गरेर हुन्छ सबै दललाई मूलधारमा ल्याउन र विरोधी समूहका मागहरु सम्बोधन गर्ने प्रयासमा छौं,’ उनले भने ।
गृहमन्त्री खाँणले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह गरे ।









































