काठमाडौं, 28 फरवरी 2023
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रदेखि प्रदेशसम्म आठ दलीय गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसले पुस १० गते गरेको गल्ती सच्चाएको बताएका हुन् ।
‘केन्द्रदेखि प्रदेशसम्म अब हाम्रो गठबन्धनबाट सरकार बन्छ,’थापाले भने, ‘पुस १० मा गल्ती भएको सबैलाई बोध भएको छ। पुस १० मा अस्वभाविकरूपमा गठबन्धन बनेकोले त्यसलाई भत्काइएको छ। अँध्यारोमा होइन उज्यालो र घाम लागेका बेलामा गठबन्धन भत्काएको हो।’
उनले पाँच दलीय गठबन्धन चुनावमा गएको र जनतासँग विकास, सुशासन र समृद्धिका बाचा गर्दै जितेर आएकोले त्यो गठबन्धनले सरकार बनाउनु स्वभाविक हुने बताए।
उनले गठबन्धन बलियो बनाउँदै ५ वर्षसम्म टिकाउन सबै लाग्नुपर्ने बताए। चुनावका बेलाका गठबन्धनमा रहेका दलहरू एकै ठाउँमा उभिनुका पछाडि केपी शर्मा ओलीले संसदमा दिएका अभिव्यक्ति रहेको पनि थापा बताउँछन्। उनले ८ दलीय गठबन्धनभित्र जे सहमति भएको छ त्यो पालना गर्नुपर्ने र विभिन्न बैठकहरू अब आवश्यक नपर्ने पनि बताएका थिए।









































