नेपालगन्ज, 28 मार्च 2020/ हिम शाह
कोरोना भाइरस (कोभिड-19) संक्रमण भए/नभएको परीक्षणका लागि नमुना लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगन्जस्थित राँझा विमानस्थलमा दुर्घटनामा परेको छ। चीनमा बनेको वाई 12 ई मोडेलको 9 एन एकेयू कलसाइनको जहाज दुर्घटनामा परेको हो।
हाम्रा कैलाली संवाददाता हिम शाहका अनुसार आज बिहान अवतरण गर्ने क्रममा धावनमार्गबाट केहीपर घाँसे मैदानमा विमान चिप्लिएको थियो। 11 बजेर 35 मिनेटमा दुर्घटना हुन पुगेको बाँकेका प्रहरी प्रमुख एसपी विरबहादुर ओलीले जानकारी दिनुभएको छ।
विमानमा एक जना पाइलट, एक जना कोपाइलट, एक जना एयर होस्टेज र एक जना भेरी अञ्चल अस्पतालका चिकित्सक र एक जना कोहलपुर मेडिकल कलेजका चिकित्सक सवार थिए। उनीहरु पाँचै जना सुरक्षित रहेको एसपी ओलीले बताउनुभयो। विमान के कसरी दुर्घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।









































