काठमाण्डौँ, 21 मार्च 2020
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड—19) विरुद्धको लडाईमा सरकारसँगै रहेको जनाएको छ। काँग्रेसले कोभिड—19 विरुद्धको सरकारले अघि सारेका रणनीतिहरुको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडी बढ्नुको विकल्प नभएको बताएको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना विरुद्धको लडाईका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताउनुभयो। शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नविकरणका कामहरु समेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताउनुभएको छ। चैत 9 गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नविकरणका कामहरु रोकिएको उहाँले बताउनुभयो।
फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताउनुभयो। सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत 9 गतेबाट 21 गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, 10 गतेबाट लामो दुरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ। यसैगरी 18 गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गर्ने निर्णय गरेको छ।









































